-
Activity
Suk posted an update
बालापनको डायरीबाट
दिनहरु भन्दै रातहरु गन्दै
वालापन फुलिसकेछ, बालापन झुलीसकेछ ।
कहिले आमाको काखमा लुट्पुटिएर
कहिले प्रकृतीसंगै गुट्मुटिएर
अतृप्त तृष्णा आधासुर मन लिएर
आमासंग क्रान्तीका लाभाहरु निकाल्न
सशक्त क्रान्ती गर्ने यो अवोध बालापन
अनि, प्रतिकारमा आमाको दुई हत्केलाहरुले
मेरो कोमल लालुपाते फुल्ने गालामा सुम्सुम्याउँदा
दुई थोपा आँशुको श्रद्धाञ्जलीसंगै सुँक्क-सुँक्क गर्दै
फेरि मातृवात्सल्य प्रेममा गुट्मुटिन्थें
सम्पूर्ण आधासुर मनलाई तिलाञ्जली दिएर ।
कहिले … लहै, कहिले … चचहुई … कहिले …. हुर्रहुर्र गर्दै
मरिचे, काले, डल्ले, भुन्टे, च्यान्टेहरुसंग खेल्दै
झ्याउँकिरी झै झ्याँउ झ्याँउ गर्दै दिनहरु वित्यो
ऋतुहरु परिवर्तन भईसकेछ, फेरि पनि समय परिवर्तन भइसकेछ
कहिले उच्छृङ्खल, कहिले राँकिएर अनि कहिले ठाँटिएर
अनिश्चित लक्ष्यविहीन यात्राहरु निरन्तर बगिरहन्थे
मरिचे, काले, डल्ले, भुन्टे, च्यान्टेहरुसंग हुँदा
रिकुटे बाजेको हुँकारबाट बच्न
बेजोड गतिमा आमाको काखमा लुक्न खोज्दा
कठै आमाको काखले छेक्नै सकेन
किनकी, म त धेरै ठूलो भैसकेछु
ओँठमाथि सुकोमल राैंहरु फुरफुराउन थालि सकेछ
निर्मल, निश्चल त्यो अबोध बालापन कतै बिलाई सकेछ
आजकाल,
यी नयनहरु हुसीसँगै हतासिन्छे
थाहै नदिई बतासिन्छे
कस्तुरी, मृगले उफ्रि-उफ्रि आफ्नै बास्ना खोजे झैं
परिस्थिती संगै वृद्धि हुन्छ पीर र व्यथाहरु
तनाव माथी तनावहरु झन् झन् बढदै जान्छ ।
त्यसैले त
मेरो बालापन बोलाउँ बोलाउँ लाग्छ
मातृ काखमा लुट्पुटिन मन लाग्छ
मातृ काखमा लुट्पुटिएर व्यथाहरु भुल्न मन लाग्छ ।
फेरि पनि बालापन बोलाउँ बोलाउँ लाग्छ
सधैंभरी बालापन रहोस् जस्तो लाग्छ ।
उदयराज हुक्पा चोङ्बाङ्
साभारः हुक्पा चोङ्बाङ् प्रतिभा र सिर्जनाका फूलहरु, वि.सं. २०७९
