News Feed

    • Activity
      Profile photo of Suk

      Suk posted an update

      11 months ago

      निंगाले एउटा ठाँउ वा गाँउको नाम हो । निंगाले भन्ने ठाँउ नेपालको अन्य विभिन्न ठाँउ तिर पनि रहेको सुन्न वा देख्न पाईन्छन । यद्यपि यहाँ उद्धरित गर्न खोजिएको ठाँउको भने भिन्न परिवेश रहेकोले यहाँहरु माझ स्थान परिचयको रुपमा राख्न खोजिएको हो । यो विश्वमान चित्रलाई हेर्ने हो भने संसारमा रहेको ठूलो महादेश एसियाको दक्षिणी क्षेत्रमा रहेको नेपालमा पर्दछ । नेपालको पनि सुदूरपूर्वको सायद तेश्रो सानो जिल्लाको रुपमा रहेको तेह्रथुम जिल्लामा पर्दछ । पहिले पहिले पल्लो किरात स्थित लिम्बुवान क्षेत्रको फेदाप थुम भनिएर चिनिने कतै कतै दस्तावेजहरु पाईन्छन । मध्यकाल तिर फेदाप थुम भनेर संकेत दिईयो । यसै गरी लिम्बुवानको फेदापको त?उमा (तोक्मा अपभ्रम्सित नाम) सिरानको निंगाले भनियो । अझ केहि दशक अगाडि अर्थात विक्रम सम्वतको २० देखि ५० को दशक सम्म आउँदा पूर्वाञ्चल विकास क्षेत्र स्थित कोशी अञ्चलको तेह्रथुम जिल्ला जलजले गाँउ पञ्चायत वार्ड नं. ३, निंगाले टोल भनेर चिनाईयो । यसै गरी ५० को दशक हाराहारी पछि भने कोशी अञ्चल तेह्रथुम जिल्ला जलजले गाउँ विकास समिति (गा.वि.स.) वडा नं. ३, निंगाले टोल नै भनियो । यस पछि ६० को दशक मध्यतिरबाट चाहि प्रदेश नं. १, तेह्रथुम जिल्ला र फेदाप गाउँपालिका (गा.पा.) वडा नं. ३, निंगाले मात्र भनेर चिनाउन थालिएको छ । पछि गएर प्रदेश नम्बर १ लाई यहाँका जनताहरुले अस्वीकार गर्दागर्दै केहिको राजनीतिक आड वलमा कोशी प्रदेश स्विकार्न वाध्य बनाई हाल सम्म कोशी प्रदेश नोट अफ डिसेन्टबाटै चलि रहेको छ ।

      निंगाले सानो भनाै वा ठूलो, एक प्रकारको रमणिय र अति नै सुन्दर ठाँउ हो । यहाँ सरदर ठण्डा माैसम अलि बढि पाईन्छ । पश्चिमी मोहडा रहनुको कारण पनि यो अवस्था रहेको हुन सक्छ । पानीका मूलहरु पर्याप्त मात्रामा रहेका छन । ठूलठूला खेती योग्य टार-वारीहरु यद्यपी देख्न पाईन्छन । यसमा मकै, तोरी, फापर, कोदो आदि यहाँ उत्पादन हुने गर्दछन भने पछिल्लो समय लोपोन्मुख वालीमा फापर, नेपाले चेम्बी (भटमास) आदि हुन । यहाँको वासिन्दाहरुको मुख्य व्यवसाय पशुपालन र कृषि नै प्रमुख रहेका छन । यहाँका मानिसहरु हट्टाकट्टा, दरिला र मजबूद प्रकारका छन । धान अर्को मुख्य वाली हो तर यहाँ धान ठण्डी लामो हुने भएकोले उपलव्धी मूलक नभए पनि आफूले खान पुग्ने गरी यहाँका मानिसहरुले खेती गर्दछन । मेहेल प्राकृतिक फलफूल थियो । यो हाल धेरै जसो हराई सकेको छ । पहिले पहिले यसको अचार बनाएर खाने खुबै प्रचलन थियो । यसलाई बेमाैसममा उपयोग गर्नको लागि उसिनेर, उसिनेको मेहेललाई काटेर चाना बनाई सुकाएर खाने कोशेलीको रुपमा पठाउने तथा यसलाई पेलेर चूक बनाई विभिन्न प्रयोजनको लागि उपयोग गरिन्थ्यो । त्यसताका मेहेल पेल्नको लागि कोल (परम्परागत काठबाट बनाइएको मिल) ठाँउ ठाँउमा राखिएका थिए । नेपाल नै भाैगोलिक दृष्टिकोणले माैसमी वर्षामा निर्भर खेती प्रणाली भएको देश भएको हुनाले यहाँ पनि यसको प्रभाव मनग्यै रहेको छ । यहाँ मुख्य वालीनालीको शुरुवात फागुनको अन्तिम देखि शुरु भएर मंसिरसम्ममा वर्षभरी उपभोगको लागी चाहि खाद्यान्नको सबैले व्यवस्थापन गरि सक्दछन । हिउँद याममा भने पानी पर्याप्त नरहने भएकोले हिउँदे खेती व्यापक नभई सामान्य मात्र गर्ने गरिन्छ । त्यसै गरी पशु चाैपायाहरु हिउँदमा दिनभर छाडा छाडिने कृषि पद्दती रहेकोले पनि हिउँदे वाली सोचे अनुरुप हुन सक्दैन । यहाँका कृषक तथा समुदायहरुले अझ पनि व्यवसायिक कृषि तथा पशुपालन अँगाल्न सकि सकेका छैनन । यहाँको कृषि तथा पशुपालन अझ सम्म जिवन निर्वाहमुखी मात्र रहेकोमा पछिल्लाे समय जब वैदेशिक रोजगारको शुरुवात भयो, त्यस पछि भने पशुपालन पनि केहि खस्किँदाे रुपमा मात्र देख्न सकिन्छ । कुनै समय पशुपालन मनग्य गर्ने साथै आत्म सम्मानको लागि घोडा समेत पाल्ने प्रचलन रहेको थियो । हाल आएर हेर्ने हो भने पशुपालन पनि मझाैला र साना पशुहरु मात्र पालन गर्न शुरु गरेको महशूस गरेको पाईन्छ । यसै गरी शहरी क्षेत्रसम्म खासै उत्पादनहरु जोडिन सकेका पनि पाईन्दैनन । पछिल्लो वर्तमान अवस्थामा केहि जग्गा जमिनहरु बाँझाे रहने परिपाटीका कारण रुखका टुनहरु भने केहि स्थानियहरुको सक्रियतामा शहरसम्म पुग्न थालेका छन । भने आक्कल झुक्कल अलैंची खेती, अदुवा खेती, अकबरे खुर्सानीहरु लगाउने गरिएको छ । यी चाहि नयाँ व्यवसाय आंशिक व्यवसाय हुन । यहाँ ढालफाँड गरी बसेको जग्गा जमिनहरु खेती योग्य रमणिय र सम्म छन । भने यस क्षेत्रमा झण्डै त्यति नै क्षेत्रमा विशालविशाल ढुंगाका ढाँडहरु रहेका छन । जो एकतिरबाट छिरेर निक्कै टाढाटाढाबाट निष्कन सकिने गरिका छन । यसको भित्री भाग कतिपय ठाँउमा खोक्रो र वाहिरी आवरणमा जंगल जस्तो देखिन्छ । जंगलहरुमा प्रमुख विरुवा भनेको उत्तिस, गुराँस, चिलाउने, पैयूँ (लोपाेन्मुख), पात्ले कटुस, मालिङ्गो, परेङ् आदि प्रमुख रुपमा रहेका छन । भने घर नजिकमा दुधिलो, नेभारो, वर लगायत विरुवा डालेघाँसको रुपमा उपयोग गरेको पाईन्छन । त्यसैगरी रत्नाैलाे, तीतेपाती, तीतेनी (वनमारा), सिरु आदि आदि झार तथा घाँसहरु पनि प्रमुख रुपमा रहेेका छन ।

      यो ठाँउ निकै रमणिय र सुन्दर पनि छ, भनेर माथि भनि सकिएता पनि यहाँ सामाजिकता पनि प्रसस्तै रहेको हामीले सहजै महशूस गर्न सक्छाैं । यहाँ याकथुङ र गैर याकथुङ सबै मिलीजुली बसेको पाईन्छ । गैर याकथुङमा क्षेत्री, बाहुन फाट्टफुट्ट, दमाई आदि छन । याकथुङ समुदायमा चाहि अलि धेरै समुदायहरु रहेका छन । जस्तैः- हुक्पा चङ्वाङ्, सिङ्गक, पङ्याङ्गु, सङ्बाङ्फे, खापुङ आदि प्रमुख हुन । यस ठाँउमा चङवाङ्हरु चाहि खाम्लालुङ्बाट बसाई हिँड्ने क्रममा यहाँ आईपुगेको कथन पाईन्छन । हाल वृहत र ठूलो रुपमा उनीहरुको घनत्व रहेता पनि विस्तारै वैदेशिक रोजगारका कारण यहाँका हुक्पा चङ्वाङ्हरुले आफ्नो थातथलो छाड्ने क्रमले तिब्रता लिएको जस्तो देखिन्छ । यसरी यहाँ एउटा मिश्रित भए पनि झुण्डको रुपमा भने आआफ्नो अघोषित क्षेत्र बनाएर रहेको पाईन्छ । यहाँ सामान्य २ देखि अढाई तल्ले घरहरु प्रसस्त मात्रामा रहेका छन । हाल सम्म पूर्ण रुपमा कंक्रिटको उपयोग गरेर घरहरु निर्माण गरिएका छैनन । काठ, ढुंगा, माटो तथा बाँसहरुको प्रयोग नै यहाँका प्रमुख सामाग्रीहरु हुन । यी घरहरु पहिले पहिले कमेरो र राताे माटो तथा कुपीबाट निस्केको गाजलको उपयोग गरेर रंगाउने वा लिप्ने गरिन्थ्यो भने हाल आएर बजारमा उपलव्ध चूना, ईनामेलजन्य रङ्हरुको प्रयोग गरेर सिंगारिएको र यदाकदा सिमेन्ट पनि भूँईहरुमा प्रयोग हुन थालेका छन ।

      यस प्रकारका भाैगाेलिक र सामाजिक परम्परा रहेको निंगाले गाउँमा हाल सडक सञ्जालहरुले पनि छुन थालेका छन । विकासका नाममा प्रविधी लगायतले पनि फड्को मार्ने क्रम रहेकोले सामाजिक पद्दतीहरुमा पनि परिवर्तन हुन थालेको सहज महशूस गर्न सकिन्छ । यसरी यहाँका जीवनशैली परिवर्तन पनि एउटा विकासको पाटोको रुपमा देखा पर्न थालेका छन । यस प्रकारले यहाँको परिवेशलाई अझ पनि विकसित गर्दै लैजानको लागि धेरै सम्भावनाहरु अझ पनि रहेको हुँदा यस क्षेत्रलाई हामीले सिंगार्ने ठाउँ धेरै छन । यसको लागि यहाँका स्थानिय वासिन्दा तथा यस क्षेत्रसंग सम्वन्धित सरोकार वालाहरुले सकेको सहयोग गर्न सकेमा अझ पनि सुन्दर गाउँ हुने प्रवल सम्भावना छ ।

      नोगेन्

      सुकराज हुक्पा चङ्वाङ

      हाल धरान अनि उदयपुर

      वि.सं. २०८२ मंसिर ७